मैले आज सम्म
नचिनेको व्यक्ति कोहि छ भने त्यो पहिलो अनुहार मेरै हो। साच्ची आखिर को
हुँ म ? मेरो लागि सबैभन्दा अपरिच अनुहार यदि कसैको छ भने त्यो सायद मेरो आफ्नै हो। अझ हो । वास्तवमै भन्नेहो भने अरुको सहयोग विना प्रतक्ष मेरा आँखाले
नदेखेको अहिले सम्मकै अपरिचित अरनुहार मेरै हो। मलाई थाहानै छैन प्रतक्ष आफ्नै
आँखाको अगाडि मेरो आकृति कस्तो छ भनेर। के त्यहि एउटा ऐनाको अगाडि देखिने आकृती नै
म हुँ त? के कसैले भिराइदिएकै नामले चिनिने पात्र म त्यहि हुँ त ?
आखिर को हुँ त म ? वास्तवमा के का लागि भएको हो मेरो जन्म ? के अर्काले जवर्जस्ति विल्ला भिराईदिएको परिचय नै मेरो वास्तविक परिचय हो त ? के मेरो अस्थित्व कसैले टिका लगाएर बक्सिस दिने कुरा हो ? किन किन मलाई आफ्नो अस्तित्व खोज्न मन लागिरहेको छ। भित्र भित्र पिरोलिरहेको छ आखिर को हुँ त म भनेर। म शरीर हुँ कि आत्मा यात दुईको समिश्रण? के मेरो शरीर आफ्नो हो? के परिवार, आफन्त, नातागोताहरु मेरा हुन् ? के मैले टिका लगाएर ग्रहण गरेको पहिचान मेरो हो? के मैले अध्ययन गरेर पाएको कुनै पहिचान मेरो हो? के मेरो वास्तविकतालाई कसैले प्रमाणीत गर्न सक्छ? कसैले भिराएको योग्यताको खोस्टोनै मेरो वास्तविक योग्यता हो त ? के म जे छु त्यसैको लागि मेरो जन्म भएको हो? मेरो वास्तविक अस्तित्व के हो ? जन्म पूर्व मेरो अस्तित्व केहि थियो या थिएन अनि मृत्यु पश्चात मेरो अस्तित्व के हुन्छ होला ? के जन्मनुनै जीवनको सुरुवात र मृत्युनै अवसान हो त? अथवा शुन्यताको सिद्धान्तमा आधारित हो मेरो जीवन? सायद यस्ता धेरै प्रश्नहरु छन् जुन अहिले सम्म अनउत्तरीत छन् मेरालागि।
मानव अस्तित्व र
मानव मूल्यलाई कौडीको मोलमा बिक्री भएको देखेर मलाई कहिले काँहि त लाग्छ आज सम्म
संसारको कुनै सस्तो वस्तु केहि छ भने त्यो मानवनै हो कि भनेर। जव मानिसले आफ्नो अस्तित्वनै थाहा नपाएर अरुकै
रङ्गमा आफूलाई वदल्छ भने त्यसको कुनै अर्थ देखिँदैन न त कुनै मूल्य नै हुन्छ। मानव
निर्मित क्षणभङ्गुर ईच्छा पूर्तिका लागि थापिएको पैसा रुपी बल्छिको पासो घाँटिमा
झुण्डाएर आफूलाई कौडिको मूल्यमा बेच्ने मानव आफ्नो पहिचान हराएर अनभिग्यतामै
अस्ताउँछ। मानिस जन्मदा वास्तविक मानवको रुपमा जन्म लिन्छ तर जन्म पश्चातबाटै उसले
आफ्नो वास्तविक पहिचान गुमाउँदै अर्कैले भिराईदिएको अस्तित्वमा जिउन सुरु गर्दछ।
उमेर बढदै जाँदा मानिस यो अवस्थामा पुग्छ की उस्ले आफ्नो पुरै अस्तित्व गुमाएर
अरुनै भएर जिउन सुरुगर्छ। मलाई लाग्छ जन्मको सुरुवात संगै मानिसको अस्तित्वको
मृत्युको सुरुवात हुन्छ । जब शरीर जवानी हुन्छ व्यक्तिको म भन्ने अस्तित्व पूर्ण
रुपले मरिसकेको हुन्छ। आफ्नै अस्तित्व पूर्णतया बिर्सिएको मृत आफ्नोपन बोकेको
आकृति जव जागृत हुने समय आउँछ तव उस्को भौतिक शरीर भगनावशेषको अवस्थामा पुगिसकेको
हुन्छ।
पहिचान गर्न नसक्ने हो भने हिरा र ढुङ्गामा फरकनै के छ र । ऐनामा हेर्दै सोच्छु अहिले सम्म म भन्ने व्यक्तिनै नचिनेको अनपढ गवारले के मानव अस्तित्वको मूल्याङ्कन गर्न सक्नु भनेर। अनि फेरी कहिलेकाँही लग्छ, सायद त्यति सस्तो र मूल्य विहिन पनि नहोला मानव जीवन। बिचित्रका बिशेषताहरु र मानव अस्तित्वको रहस्यमयताले फेरी सोच्न बाध्य बनाउँछ अनि देख्छ मानवलाईनै वास्तविक ईश्वरीय अवतारको रुपमा। मानव आफैमा एक बिचित्रको प्राणीको रुपमा पनि देखिन्छ। जस्तैः हरेकको आफ्नै स्वभाव हुनु, कसैको अनुहार पूर्णरुपमा कसैसंग नमिल्नु, औंठाछापमा हुने अद्दितीय रहस्य लगाएतका हरेक कुराले कुनै पनि व्यक्ति समान छैन भन्ने प्रमाणीत गर्दछ। फरक-फरक आत्मा र शरीरले बनेका आकृतिहरुमा समानता हुने कुरा पनि भएन। अनि यस्तो रहस्यमय कुरालाई कसरि कुनै व्यक्तिले मूल्य तोक्न सक्छ यदि उसले पहिचाननै गर्न सकेको छैन भने। आफूलाई नचिन्ने मानवले अरुलाई कसरि जानोस् यो त झनै कठीन यात उसको पहुँच बाहिरको बिषय भयो। मानव जीवन रहस्यमय छ। वास्तवमै के हो मानव त्यो सम्म भेटन सकेको जस्तो लाग्दैन। मानव के गर्न सक्छ के गर्न सक्तैन त्यो त परको कुरा भयो । मानिसले गर्न सक्ने कुरा तव पत्ता लाग्न सक्ज जव उस्ले आफूलाई पहिचान गर्न सक्छ।
म भन्ने पात्र हराएर
खोज्न निस्किएको कसैले भिराईदिएको पहिचान बोकेको आकृति अहिले सम्म म भन्ने ब्यक्ति
भेटन सकेको छैन। कहि कसैले कतै भेटनु भएछ भने कृपया यो अर्कैले विल्ला भिराईदिएको
आकृतिलाई खबर गरिदिनु हुन अनुरोध गर्दछु। हरेक वस्तुलाई जस्तै नाम राखेर परिचय
गराएको यो व्यक्तिको पहिचानको लागि मानवलेनै नामाकरण गरेको रेडियो टेलिभिजन र
सामाजिक संजालबाट खोजतलासको लागि खुला विज्ञापन गर्न चाहान्छु। हुनत त्यो म भन्ने
पात्र सायद अदृष्य हुनु पर्छ नत्र त आज सम्म कोहि न कोहिले पक्कै नै भेट्ने थियो
होला। जस्ले देख्यो या भेट्यो उस्ले देखाउन नसक्ने भएर पनि हुन सक्छ यो पात्रलाई
अहिले सम्म देखाउन नसकेको। जे भए पनि जो भए पनि यदि कहिँ कसैले साँच्चिकै म भन्ने पात्रलाई भेटनुभएको खण्डमा खबर गरिदिनुहुन अनुरोध गर्दछु। नमस्कार।
0 Comments