शिक्षक को हो ? अहिलेको शिक्षक कस्तो हुनुपर्दछ? के शिक्षक, गुरु र मास्टर बीच भिन्नता छ? यदि छ भने के कस्तो भिन्नता छ? के शिक्षक गुरु हुन सक्यो? यदि हुन सकेन भने के कति कारणले ? पहिले शिक्षकको अवस्था के थियो र अहिलेको अवस्थामा शिक्षक कस्तो हुनु पर्दछ लगाएत शिक्षकको भविष्यका बारेमा गम्भिर समिक्षा गर्नु आवस्यक देखिएकोले यो लेख लेख्न प्रयास गरेको छु। नेपालको परिपेक्षमा हेर्नेहो भने शिक्षकको अस्तित्वमाथी नै गम्भिर प्रश्न चिन्ह खडा भैरहेको अहिलेको परिवेसमा यसको चर्चा गर्नु नितान्तै सान्द्रभिक देखिएको जस्तो मलाई लाग्छ। मूख्य गरेर सार्वजनीक शिक्षामा शिक्षकको भुमिका। शिक्षकमा देखिएका समस्या र चुनौतीहरु साथै शिक्षकलाई हेरिने दृष्टिकोरण तथा त्यसका कारणहरु लगाएत राज्यले शिक्षा र शिक्षक प्रतिको धारणा प्रति गम्भिर चासो देखिएकोले त्यसको बारेमा केहि अध्ययन गर्न मन लागेर यो लेख लेखिएको हो।  यसमा लेखिएका कुराहरु  नितान्ततै ब्यक्तिगत धारणा भएकोल यसप्रति पाठक वर्गहरुको उचित सल्लाह  र सुझावको अपेक्षा गर्दछु। 

शिक्षक

शाब्दिक अर्थ खोतल्ने हो भने नेपाली बृहत् शब्दकोशमा शिक्षक शब्दको अर्थ: शिक्षक: [सं०] शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर भनिएको छ।  त्यस्तै गुरु शब्दको शाब्दिक अर्थ [सं]. कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक। २. संङ्गीतकला आदि सिकाउने ब्यक्ति; उस्ताद । शाब्दिक अर्थकै चार नम्बर वुँदामा गुरुको अर्थलाई यसरी प्रष्ट्याउन खोजिएको छः ४. बुद्धि; बल; उमेर; विद्या; आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति मान्य जन। त्यस्तै मास्टर शब्दको अर्थः शिक्षक; गुरु; संगीत वाद्य आदिका विशेषज्ञ। मास्टर शब्द अंग्रेजी शब्दबाट आएको हो जस्को पहिलो नेपाली अर्थ हुन्छ मालिक । क्यमब्रिज अंग्रेजी डिस्नेरीमा मास्टर शब्दको अर्थलाई a person who is very skilled in a particular job activity भनिएको छ।   ल्याटिन शब्द magister बाट लिईएको master शब्दको व्यापक अर्थ लगाउँदा   "One who has power to control, use, or dispose at will” भनिएको छ।

शब्दकोषले शिक्षक शब्दको प्रायवाची शब्दको रुपमा गुरु र मास्टलाई  पनि राखिएको देखिन्छ। गुरु शिक्षक र मास्टरलाई प्रायवाची शब्दको रुपमा हेरीयतापनि यिनीहरुको समानता भन्दा भिन्नता धेरै भएको जस्तो मलाई लाग्छ । खप्तड स्वामी लगायतको भनाइ यो रहेको छ कि ‘गुरु’ पूर्र्वीय सभ्यता र संस्कृतको उपज हो। ‘गुरु’ शब्दको सदृश अर्थात ठ्याक्क त्यस्तै भाव, मर्म र अर्थ बुझाउने शब्द अंग्रेजी लगायत पश्चिमी कुनै भाषामा पनि शब्द छैन। ‘टिचर’ शब्दले ‘शिक्षक’ बुझाउँछ। ‘गुरु’ र शिक्षक शब्द समान अर्थी होइनन्। शाब्दिक परिभाषा नियाल्दा गुरु शब्दको अर्थलाई थोरै भएपनि शब्दकोशको "बुद्धि; बल; उमेर; विद्या आदिमा श्रेष्ठ  आदरणीय वा पूज्य मान्य जन।" भन्ने परिभाषाले केहि हद सम्म सम्बोधन गर्न खोजेको जस्तो लाग्यो।  यसबाट पनि के कुरा प्रष्ट हुन्छ की गुरु बन्न आफैमा पनि सजिलो छैन। सर्वज्ञानले भरिपूर्ण भएको गौरव गर्न लायक ब्यक्ति मात्रा गुरु कहलाउँछ।

 

शास्त्र अनुसार गु को अर्थ अन्धकार वा अज्ञान हुन्छ र रु को अर्थ निरोधक वा प्रकाश हो, तेसैले जसले अज्ञान रुपी अन्धकारबाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । शास्त्र मा गुरु को स्थान भगवान को भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ । वैदिक दर्शनमा गुरुको सम्मानमा लेखिएको स्लोक "गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ।।" यहाँ ‘ब्रहृम’ शब्दको अर्थ ‘ज्ञान’ भन्ने हो। ‘गुरुर साक्षत् परम ब्रहृम’ अर्थात गुरु नै ज्ञानको सवोर्त्कृष्ट स्रोत हो, भनी गुरुको महत्त्व र उच्च स्थानलाई प्रष्टयाएको छ। गुरुनै ज्ञानको जन्मकर्ता हो पालन पोषण कर्ताहो र सर्वदोष तथा अन्धकार नासक हो भनिएको छ। गुरु शब्दको अर्थ धेरैनै व्यापक छ। अविद्याहृदयग्रन्थिबन्धमोक्षो यतो भवेत्, तमेव गुरुरित्याहुर्गुरुशब्देन योगिनः अविद्याले बन्द रहेको ज्ञानरूपी हृदयग्रन्थीलाई खोलिदिने परम् व्यक्तिलाई योगीहरूले गुरु शब्दले पुकारेका छन् संसारमा तीन किसिमका विषयहरू हुन्छन् सत्य, असत्य र मिथ्या । वास्तविक गुरु त्यो कहलाउँछ जसले असत्य र मिथ्याको परिपञ्चबाट मुक्त गरेर साधक अथवा भक्तवत्सल वा शिष्यलाई सत्यतातर्फ डोर्याउन सक्छ । वेदमा भनिए जस्तै असतोमा सत्गमयः, तमसोमा ज्योतिर्गमयः, मृत्युर्मा अमृतंगमयः को ज्ञानको बोध गराउँदै मार्गदर्शन गर्ने गुरु असली सद्गुरु हो

 

गुरुकै ज्ञानबाट जागेर ईतिहाँसका पानामा सफल कहलिएका व्यक्तिहरु माहान भएका थिए। भगवान रामले वेदवेदांगको शिक्षा गुरु वशिष्ठसँग प्राप्त गरेका थिए। श्रीरामसँगै उनका तीन भाइ भरत, लक्ष्मण एवं शत्रुघ्नले पनि शिक्षा लिएका थिए। यसैगरी ब्रह्मषिर् विश्वामित्रसँग पनि रामले शिक्षा लिएका थिए कृष्णले आफ्ना दाजु बलराम तथा साथी सुदामासँगै गुरु सान्दीपनिसँग शिक्षा ग्रहण गरेका थिए । श्रीकृष्ण र उनका दाजु बलराम सान्दीपनि गुरुको आश्रममा अन्य शिष्यहरु सरह बसेर ज्ञान प्राप्त गरेको कुरा उल्लेख छ। यही आश्रममा एक गरीब पुत्र सुदामा पनि थिए। कौरव र पाण्डवले द्रोणाचार्यका आश्रममा नैं अस्त्र र शस्त्रको शिक्षा पाएका थिए। गुरु द्रोणाचार्यका अन्य शिष्हरूमा एकलब्यको नाम उल्लेखनीय छ। उनले गुरुदक्षिणामा आफ्नो बुढी औँला द्रोणाचार्यलाई दिएका थिए।

 

यसबाट के प्रष्ट हुन्छ भने पौराणिक वैदिक शिक्षा सबैलाई समान थियो र त्यो ज्ञान केन्द्रीत थियो। गुरुहरु ज्ञानी, उच्च चरित्रवान र गौरव गर्न लाएक थिए। तर आधुनतासैगै गुरु शब्दको दुरुपयोग भएको छ। नाक र निधार खुम्चाउनु पर्ने ब्यक्तिहरुलाई गुरु नामले संवोधन गरिँदैछ।  शिक्षक गुरुबाट फरक हुनुको एक मूख्य कारक तत्व हो नैतिकता। गुरु कसैको कारिन्दा  थिएन उ स्वतन्त्र थियो तर अहिले शिक्षकलाई  उसका ब्यक्तित्व देखि हरेक क्षेत्रलाई कुण्ठित गरेर सूचना बाँडन पठाइएको एक हुलाकीको रुपमा प्रयोग गरिए को छ। ज्ञानलाई मापन गर्ने  भन्ने कुराको तथ्यको लागि यसको थोरे चर्चा गर्न खोजिएको हो। 

 

शिक्षक कस्तो हुनुपर्छ र भन्नेकुरा खोज्नु पूर्व आधुनिक शिक्षा र शिक्षकको बिषयमा जान्नु आवस्यक छ। शिक्षक आधुनिकताको उपजहो। किनभने आजभन्दा अगाडि संसारमा शिक्षक छँदै थिएनन् भन्दा पनि हुन्छ। शिक्षकको उपस्थिति नै आधुनिक कुरा हो । पहिला शिक्षक थिएनन् गुरु थिए यात मास्टर थिए  तिनीहरू आधुनिक शिक्षकहरूभन्दा निकैनै भिन्न र शक्ति सम्पन्न थिए। अहिलेको संसारमा शिक्षण व्यवसाय बनेको छ भने शिक्षक कारिन्दा। त्यसको परिणाम के निम्त्याएको छ भने शिक्षण संस्थाहरू फ्याक्ट्री र कारखानाहरू जस्ता भएका छन् । शिक्षक फ्याक्ट्री वर्कर तथा बिद्यार्थीहरु उत्पादित (manufactured) सामाग्री। कुनै समय गुरुको हातमा भएको शिक्षाको बागडोर अहिले चुँडिएर कुनै निश्चित स्वार्थी मालिकहरुको हातमा पुगेको छ। आफ्नो स्वार्थअनुकुलको मनोमानित शिक्षा प्रणाली कलिला मानसपटलमा जवरजस्ति लादिएको छ। आधुनिक शिक्षक एक बिष निकालिएको सर्प जस्तै बनेको छ; कुनै जादुकरको इसरामा नाच्ने। भएका सबै शक्तिहरु खिचिएर नाङ्गाईएको एक अर्थहिन नौटङ्की। साँच्चै भन्नेहो भने अहिलेको शिक्षक नत गुरुनै रहन सक्यो न कुनै जादुगर मात्र कसैको इसरामा नाच्ने एक अभिनय कर्ता। मास्टरको हैसिएत पनि रहेन अहिलेको शिक्षकमा ।

हाम्रो देशको परिवेसमा हेर्नेहो भने अहिले अधिकांस विद्यालयहरुमा शिक्षकहरूको एउटा साझा गुनासो सुनिन्छः विद्यार्थीहरू उनीहरूलाई आदर गर्दैनन । भनिन्छः पहिले त यस्तो थिएन अहिले अनुशासनको खडेरी देखिएको छ। पहिले शिक्षक केन्द्रमा थिए भने विद्यार्थी परिधीमा तर अहिले शिक्षण संस्थाको केन्द्र शिक्षक हैन, विद्यार्थी भएकाछन् । परिस्थिति फेरिएको छ र शिक्षकले विनयी हुनुपर्ने भएको छ । तर वास्तवमा पहिला जसले आदर प्राप्त गरेको थियो, ऊ शिक्षक थिएन गुरु थियो। शिक्षकलाई आदर प्राप्त हुनै सक्दैन । शिक्षक बनेर  आदर पाउने कल्पनानै छोडिदिनु पर्दछ, होइन भने गुरु हुने हिम्मत जुटाउनु पर्छ । गुरुलाई कसैले आदर गर भनिरहनु पर्दैन। जसलाई आदर  नगरिकन धरै छैन, जसले आदरलाई खिचेर लिन सक्छ, त्यसलाई नै गुरु भनिन्छ।  गुरु त्यो हो, जसले कसैको आत्मालाई ब्यूँझाउन सक्छ, कसैको व्यक्तित्वलाई गरिमा प्रदान गर्न सक्छ, ब्यक्ति भित्र लुकेको या निदाएको प्रतिभालाई बिउँताउन सक्छ। हरेक ब्यक्तिलाई जगाउँदै आत्मपहिचान गराउने माहान ब्यक्ति गरु हो। गुरु द्वारा प्रदान गरिएको शिक्षा अमर, अपरिवर्तनसील र व्यवहारिक हन्छ । गुरुकोको काम सिकाउने होइन बिउँताउने हो। सूचना र जानकारी बाँड्ने वाहन वा हुलाकी मात्र हो शिक्षक ।

वैज्ञानिकताले अहलेको विश्व यति प्रभावित बनेको छ की हरेक कुराहरु सत्य तबसम्म हुन्छन जबसम्म नयाँ परिक्षणले त्यसलाई असत्य सावित गर्दैनन्। जिससको मृत्युपछि लगभग साढे अठार सय वर्षमा मनुष्य जातिको ज्ञान जति बढेको थियो, त्यति नै ज्ञान गएको डेढसय वर्षमा बढेको छ र गएको डेढसय वर्षमा जति ज्ञान बढेको थियो, त्यति नै ज्ञान पछिल्लो पन्ध्र बीस वर्षमा बढेको छ । जति ज्ञान बढ्नलाई साढे अठार सय वर्ष लाग्दथ्यो, त्यति ज्ञान अहिले पन्ध्र बीस वर्षमा बढिरहेको छ । यसको एउटा धेरै गहिरो परिणाम हुनु स्वाभाविक छ । आजभन्दा दुई सय वर्ष पहिले बाउ सधैँ छोराभन्दा बढी जान्ने हुन्थ्यो, गुरु सधैँ चेलाभन्दा बढी जान्दथ्यो, आज त्यसो हुनु जरूरी छैन । परिवेस विलकुल बदलिएका छन्, किनभने बीस वर्षमा एउटा पुस्ता फेरिन्छ, बीस वर्षमा नयाँ ज्ञानको ठूलो विष्फोट हुन्छ र बीस वर्ष पहिले शिक्षित भएको व्यक्ति अहिले आफ्नो विद्यार्थीभन्दा धेरै पछाडि पर्न सक्छ ।पहिला ज्ञान अनुभवबाट मात्र उपलब्ध हुन्थ्यो । ज्ञान स्थिर हुन्थ्यो, सताब्दीयौं सम्म कुनै परिवर्तन हुँदैनथ्यो । आज एउटा शिक्षक ‘म जे भनिरहेको छु, ठीक भनिरहेको छु’ भनेर आत्मविश्वासपूर्वक भन्न सक्ने अवस्था छैन। किनभने बार्ह्र पन्ध्र वर्ष पहिला विश्वविद्यालयबाट हाँसिल गरेर आएको उसको डिग्री अहिले संग्रालायमा थन्काउने भैसकेका हुन्छन्। जति बेला उसलाई ज्ञानी सम्झिइन्थ्यो तर बार्ह्र पन्ध्र वर्षमा उसका सबै ज्ञानहरू पुराना भैसकेका छन्। तीमध्ये कति त अब ज्ञान नै नरहेका हुनसक्छन्।

आज शिक्षक र विद्यार्थी बीचको ज्ञानको दुरी नितान्तै कम छ यात छँदै छैन भन्दा पनि हुन्छ। पहिले उमेरको आधारमा ज्ञानको दूरी नापिन्थ्यो किनभने ज्ञान अनुभवबाट आर्जित हुन्थ्यो। जव दुई जना बीचको दूरी टाढा देखिन्थ्यो तब अगाडिको मानिकसलाई हेर्ने दृष्टीकोण फरक हुन्थ्यो। आज कसैले पनि पहिला जन्मिएको कारण वा कपाल फुलेकै र गाला चाम्री परेकै आधारमा कसै माथि आफ्नो बिचार लादन सक्दैन । पहिला शिक्षक विनम्र हुनुपर्दैनथ्यो विद्यार्थीले मात्र विनम्र हुनुपथ्र्यो । शिक्षक आफूले आर्जन गरेको ज्ञानको घमण्डले  ठूलो अहङ्कारले भरिएको हुन्थ्यो । छडी र चर्को बोलिको दम्बकै आधारमा विद्यार्थीहरुलाई तह लगाउन सक्ने हैसिएतमा शिक्षक थियो। तर  अब परिस्थिति फेरिएको छ र शिक्षक नम्र हुनुपर्ने भएको छ। हिजोसम्म शिक्षक केन्द्र थियो भने विद्यार्थी उसको परिधिभित्र थियो, अब स्थिति एकदम बद्लिएको छ । अहिले विद्यार्थी केन्द्रमा छन् भने शिक्षक परिधिमा। यदि कुनै शिक्षक पुरानै ढर्रा लिएर हिँडन खोज्छ भने उसको अस्तित्व डाइनोसर बन्ने सम्भावना देखिन्छ । यसका लागि अब शिक्षकले आफ्नो सम्पूर्ण व्यक्तित्वको छविलाई नै फेर्नु जरूरी भइसकेको छ ।

आजको शिक्षकले आफ्नो ज्ञानको गतिलाई समय अनुकुल वदल्न जरुरत छ। कुनैबेला रोपेर छोडेको मरुभूमीको खेति जस्तो विश्वविद्यालयबाट आर्जित शिक्षा अहिले अर्थहिन भैसकेको छ। शिक्षक अब मालिक होइन आफूलाई विद्यार्थीहरु माझ सहपाठी साथीको रुपमा परिवर्तन गर्न आवस्यक देखिन्छ। शिक्षकले पहिरिएको कसैलाई आज्ञा दिने मालिकको मुकुण्डो निकालेर अव फ्याँकिदिन आवस्यक छ। पुराना जिबाष्म बिचारहरु अव ज्ञान होईन लास बनिसकेका  छन् त्यस बिचारलाई जति बोक्यो त्यतिनै दुर्गन्ध दिने हुनाले शिक्षकले नयाँ बिचार र ज्ञानले आफैलाई चोख्याउन नितान्तै जरुरी छ। अव कुनै पनि ब्यक्ति आफू शिक्षक हो वा होइन भनेर नियाल्न पहिले आफ्नो वास्तविक्ता नियाल्न एक पटक ऐना अगाडि उभिएर आफूलाई प्रतिविम्बित गर्न अनिवार्य देखिन्छ। आफू उभिएको धरातललाई पून एक पटक शिर झुकाएर हेर्न आवस्यक छ। आफ्नो वरिपरी घेरिएको अहंकारको पर्दा उघारेर खुला आकास नियाल्न अनिवार्य छ। एक शिक्षकले कसैबाट अन्धश्रद्धा चाहेको छ भने पहिले त्यस ब्यक्ति भित्रको विचार को हत्या गर्नु पर्दछ । जो विचार गर्नसक्छ, त्यसले अन्धश्रद्धा दिनै सक्दैन । त्यसैले पुरानो शिक्षा अन्धविश्वास र अन्धश्रद्धा माथि निर्भर थियो। त्यस्तो शिक्षाले विचार गर्ने प्रेरणा दिँदैन,  विचार लाई रोक्ने चेष्टा गर्छ। कसैले आफूले भनेको कुरा जस्ताको त्यस्तै मानोस भन्ने गलत भावनालाई आजनै तिलान्जली दिएर पहिले अरुको कुरा सुन्ने बानीको विकास गरिनु पर्दछ। यदि त्यसो गरिन्छ  भने त्यो भन्दा ठूलो मानव विरुद्धको अपराध केहि हुन सक्तैन। त्यस्तो व्यवहारले मानिसलाई विकसित हुन बाट रोक्नेमात्र होईन उसको बिचारको हत्या नै हुन्छ। कुनै ब्यक्तिको बिचारको हत्याहुनु भनेको स्वयं त्यस ब्यक्तिको हत्या हुनु सरह हो। अन्दाज गरौं एउटा हत्याराले बढिमा कति जनाको हत्या गर्न सक्ला ?  तर एक शिक्षकले आफ्नो मरिसकेको लासको डङ्गुर जवरजस्ती कलिला अवोध दिमागहरुमा भरिदियोभने हजारौं मानिसहरुको हत्या हुनसक्छ। त्यसैले शिक्षकले आफूलाई पूर्ण रुपमा रुपान्तरण गर्न आवस्यक छ। ध्यान रहोस्, विचार विद्रोही हुन्छ । विचार को अर्थ नै विद्रोह हो, किनभने विचार हमेशा इन्कार गर्नु बाट शुरु हुन्छ । जसले ‘नाइँ’ भन्न सक्तैन ऊ विचार पनि गर्न सक्दैन । यदि कसैले ‘हो’ भन्छ भने विचार का लागि कुनै ठाउँनै रहँदैन। जब यदि कसैले ‘होइन’ भन्छ भने, तब तर्क गर्नु पर्ने हुन्छ, सोच्नुपर्ने हुन्छ, प्रमाण दिनुपर्ने हुन्छ । ‘हो’ भन्न सजिलो छ। न सोच्नुपर्छ, न तर्क दिनुपर्छ न प्रमाण पुर्‍याउनु  पर्छ। दार्शनिक ओशो भन्छन शिक्षक सबैभन्दा बिद्रोही र अग्नी ज्वाला ओकल्ने खालको हुनुपर्दछ । आफ्नो बिचार स्वतन्त्र तरिकाले अभिव्यक्त गर्नु पर्दछ। बिना विचार कसैको अन्धभक्त हुने ब्यक्ति कदापी शिक्षक हुन सक्तैन। यदि कुनै शिक्षक बिद्रोही स्वभावको छैन भने त्यो कसैको एजेन्ट हो ।  त्यस्तो शिक्षक वास्तविक स्वतन्त्र शिक्षक हुनै सक्तैन।

मानव सभ्यताको विकास जति  भएको छ, त्यो ‘होइन’ भन्नेहरूकै कारणले भएको छ । चाहे त्यो जुनसुकै विधा होस्, गणित,  दर्शन, धर्म वा विज्ञान हरेक क्षेत्रमा  इन्कार गर्नेहरू नै परिवर्तका वाहक हुन् । जसले ‘हो’ भनेका छन्, उनीहरू उस्तै अवस्थमा बाँचिरहेका छन्। यसको उदाहरणको रुपमा अझै पनि जंगली अवस्थामै रहेका केहि मानव समुदायलाई हामी संझिन सक्छौं। कुनै समयमा कसैले वनाएको निएमलाई आँखा चिम्लेर ‘हो’ भनेर आत्मदाह गर्ने खालको शिक्षा यदि कल्पना गरिन्छ भने त्यो भन्दा ठूलो मुर्खता अहिलेको समाजमा अरु केहि हुन सक्तैन। अगाडिको शिक्षा शिक्षक, अग्रज वा कुनै अधिकार प्राप्प निर्देशन कर्ताले  भनेको कुरालाई होईन भन्यो भने दण्डनीय हुन्थ्यो। शिक्षकले जे भन्थ्यो त्यो ठीक हो भनेर ग्रहण गर्नु पर्दथ्यो। तर अहिले समय फेरिएको छ शिक्षकले आफूले भनेको कुरा १०० प्रतिशत ठीक हो भन्न सक्ने अवस्था रहँदैन । त्यसको जिम्मा सिकारुलाईनै छोडिदिनु उपयुक्त देखिन्छ।

अहिलेको शिक्षकलाई लागेको वा सबैभन्दा ठूलो आरोप र भनेको शिक्षकको काम विद्यार्थीलाई किताबमा दिएको सूचनाको जानकारी गराउने मात्र भयो।  के सूचना दिनु मात्रै अहिलेको शिक्षाको काम हो ?  के त्यस्ता सूचनाबाट चाहेको शिक्षा वा ज्ञान प्राप्त हुन्छ ? ध्यान रहोस्, सूचना र ज्ञानमा आकास पातालको फरक छ । सूचना त्यो हो, जुन बाहिरबाट प्राप्त हुन्छ र ज्ञान त्यो हो जुन मानिस भित्रबाट जागरण हुन्छ। सूचना दिदएर अब शिक्षकको अस्तित्वको रक्षा हुनेवाला छैन।  अहिलेको पिँढीले यस्तो सूचना चाहेकै छैनन्। त्यसैले उनीहरुको विद्यालयको शिक्षा प्रतिको चासो बिस्तारै हराउँदै गएको छ। सुचनामात्र दिने यस्ता हजारौं  कलेजका कक्षाहरू छोडेर लाखौं युवा–युवतीहरू वेवारिसे भएर हिँडेका छन्। लागुऔषध दुर्वेसनी देखि लिएर विभिन्न अपराधमा संलग्न हुन लाखौं युवालाई यस्तै शिक्षा प्रणालीले विवस बनाएको छ। एक अर्थमा भन्नेहो भने यो शिक्षाले उनीहरुको पूरै जीवन वर्वाद गराउँदै छ। मानिस कुनै सूचनाहरूको सङ्ग्रह गर्ने मेशिन होइन। त्यसैको लागि त कम्प्युटरले आविस्कार गरिएको हो। त्यो काम त कम्म्युटरले गरिदिन्छ नी।

एउटा बच्चा पाँच बर्षको उमेरबाट कुनै विद्यालयमा भर्ना गरिन्छ। उसको उर्जासिल मानसपटलमा तिनै पुराना डङ्गुरहरु भर्न सुरुवात हुन्छ। जव उ विद्यालयमा प्रवेस हुन्छ त्यसै दिनबाट उस्को आत्माको हत्याहुन सुरुवात हुन्छ। रुँदै गरेको दुधे बालकलाई जबरजस्ति आमाको काखबाट चुँडाएर घुँक घुँक रुवाउँदै कक्षाकोठामा वेवारिसे फ्याँकिन्छ। कितावी सूचनालाई जवरजस्ती लादिन्छ। अर्कैले सोचे अनुकुल ग्रहण नगरेकै आधारमा शारीरिक वा मानसिक दण्ड थोपरिन्छ। हरेक बर्ष मानिसको दिमागलाई सिमित अक्षर र कागजका पानामा रंङ्गाएका आधारमा उसको मूल्याङ्कन गरिन्छ। अनि भिराइन्छ सक्षमता र असक्षमताका बिल्ला। हामीले देखेकै छौं कति बालबालिकाहरु बाल शिक्षाबाट कक्षा माध्यमिक तह कक्षा १२ उतिर्ण गर्दा सम्म राम्रोसंग आफ्नो नाम लेख्न पनि नसक्ने अवस्थामा रहेका छन्? अनि के सिकायौं त हामीले? कस्तो सूचना दिन सफल भयौं त हामी? अब हरेक कुराको समिक्षा गर्नु पर्ने अवस्था आएको छ। नेपालको परिवेसमा हेर्नेहो भने केहि निजि विद्यालय र बजार केन्द्रीत भएका पगडी गुँथन सफल ढेँडु सामुदायीक विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई राम्रो अंङ्क ल्याएर पास गराउन सफल भएको ढोलक पिटदै गरेको सुनिन्छ । म पनि लामो समय निजि विद्यालयमै सूचना दिने हुलाकीको रुपमा अनुभव प्राप्त शिक्षककै नाताले भन्नु पर्दा र अहिले सम्झँदा  हाँसो उठेर आउँछ। म शिक्षक मात्र नभएर एक अभिभावक पनि हो। यो लेख लेख्ने समयमा मेरो जेठो छोरा कक्षा १२ र कान्छो छोरा कक्षा १० मा अध्ययनरत छन् । त्यस्तै निजि विद्यालयमा पढाउन बाद्य पारिएका उनीहरु लगभग अहिलेको नेपालको शिक्षाले मूल्यङ्कन गर्दा  लगभग माथिल्लो दर्जाकै विद्यार्थी हुन्। तर उनीहरुसंग तिनै कितावी सूचाना भन्दा अरु कुनै कुराको ज्ञान छैन। लाग्छ आजभोलि त तिनीहरु मान्छे होइनन् कसैले रङ्गाएका अक्षर मात्र हुन्। उनीहरुको आत्माको पूर्णत हत्या भैसकेको छ। मानिसबाट सूचना भण्डारण गर्ने मेशिनमा रुपान्त्रण उनीहरु भैसकेका छन्। मलाई थाहा छ उनीहरुले बटुलेका सूचनाहरु दीर्घकालिन सत्य हुनेछैनन्। यदि समयमै तिनी सूचनाहरु बजारमा बिक्रीगर्न असमर्थ भएमा उनीहरु जस्तो अशिक्षित कोहि हुने छैन। यो मेरा दुई छोराहरुको मात्र समस्या होइन यस्तै सबै छोराछोरीहरुको समस्या हो। यो  शिक्षाले बालबालिकालाई अपाङ्ग बनाएको महसुस मलाई हुँदैछ। हृदय साँची राखेर भन्नेहो भने यो शिक्षाले भएका खुट्टा भाँचेर बैशाखी भिराएको जस्तो लाग्छ मलाई।

हाम्रो देशको मात्र नभनौं विश्वका हरेक माथिल्लो तहमा पुग्ने व्यक्ति कक्षामै राम्रो अंङ्क ल्याएर मात्र जीवन सफल बनाउन सक्षम भएका छन् त? यसै प्रसङ्गमा मलाई अलिबाबा कम्पनीका मालिक  ज्याक्माको याद आयो। विद्यालयले फेलर भनेर टिका लगाएको व्यक्ति कसरी संसार हल्लाउन सफल भए? तिनै थोमस होइनन् जसलाई हाम्रो जस्तै विद्यालयको शिक्षाले असक्षम ठम्याउँदै निस्कासन गरेको जस्ले हजारौं आविस्कारहरु गरेर विश्वलाई सुगन्धित तुल्याएको ? यिनीहरु त केहि उदाहरण मात्र हुन्। विश्वमा भएका हरेक सफल व्यक्तिहरुको ईतिहाँस खोतल्दा अधिकांस व्यक्तिहरुको विद्यालयको शिक्षकाको अवस्था त्यस्तै देखिन्छ। जीवनको उर्जासिल समयमा काम नलाग्ने सुचनाको डङ्गुर जवरजस्ति भिरेर कुनै ब्यक्ति सफल र सक्षम जिवन जिउन सक्तैन।  यसै कुराको हेक्का भएर अहिले सफल भनिएका केहि देशहरुले सूचनाधारी शिक्षाको परिपाटीको हेहिहद सम्म अन्त गर्दै ज्ञान जगाउने खालको शैक्षिक परिपाटीमा अग्रसर भएका छन्। जस्ले गर्दा त्यहाँ अध्यापन गराउने शिक्षक सच्चा गुरु कहलाउन सफल छन् अनि विद्यारथीहरु असल र सक्षम चेला हुन सफल भएका छन्। त्यस्ता देशहरुले हरेक क्षेत्रमा अग्रगामी छलाङ् मार्न सफल भएका छन्।

अर्को अचम्म लाग्ने कुरा छ शिक्षक नियुक्ति प्रक्रिया। शिक्षक हुनको लागि जो कोहि ब्यक्ति सुहाउँदैन र हुन सक्तैन पनि। के कसैलाई टिका लगाएकै आधारमा शिक्षक बनाउन सुहाउँछ? के शिक्षक खेताला हो भाडामा लिने?  के तीन घण्टाको घोक सेवा पास गर्दैमा कोहि ब्यक्ति सक्षम शिक्षक हुन सक्छ? शिक्षाको मूख्य दायित्व कस्को हो? के शिक्षकहरुकै कारण शिक्षाक्षेत्र प्रभावित भएको हो त? कुनै निश्चित सैद्धान्तिक ज्ञानको आधारमा कसैलाई सक्षम र असक्षम घोषणा गरेर गरिने आयोगहररु शिक्षाक्षेत्रलाई धोस्त वनाउने सबैभन्दा खराव प्रक्रिया हुन। बिषय वस्तुमा निरन्तर आफूलाई परिवर्तन राख्न सक्ने , ज्ञानले भरिएको उर्जासील ज्ञानी गतिसिल तथा समजको रोल मोडेल ब्यक्ति मात्र शिक्षक हुन योग्य हुन्छ। 

आफ्नो अस्तित्वको रक्षा गर्न शिक्षकले आफूलाई परिवर्तन गर्नु पर्ने समय आएको छ। शिक्षक हुनै आफैमा चुनौतीपूर्ण छ त्यस्यले कसैको कारिन्दा नसंझिएर आफ्नो कर्तब्यप्रति दृढ हुन आवस्यकता छ। कसैको गोटी बनेका हाम्रो देशका राज्य संचालनको जिम्मा लिएका ठेकदारहरुले शिक्षाक्षेत्रलाई धोस्त बनाएर आफुले कलो खाएको मालिकको नुनको सोझो गर्दैछन्। शिक्षक माथी गरिएका पक्षपाती व्यवहार, शिक्षकहरुबीच खण्डिकरण, शिक्षामा गरिएको राजनीतिक हस्तक्षेप, शिक्षाको विकासको लागि देखाइएका उदासिनता, शिक्षा प्राप्तिमा विभेद,  शिक्षामा व्यापारीकरण केहि त्यसका ज्वल्नत उदाहरण हुन्। राज्यले जस्तो सुकै व्यवहार गरेपनि शिक्षकले आफ्नो कर्ममा परिवर्तन गरिनु हुँदैन किनभने उसको प्रतक्ष सम्वन्ध भनेको बालबालिकाको भविष्य मात्र होईन वास्तविक जीवनसंग जोडिएको हुन्छ। आफूलाई नविनतम ज्ञानले सुसज्जित बनाउँदै वास्तविक मानव जीवन जिउन चाहिने ज्ञान उजागर गराउन सक्ने खालको सीप शिक्षकले हाँसिल गर्नुपर्दछ। शिक्षकले पढाउने होइन न सिकाउनेनै हो। विभिन्न सीपहरुको प्रयोग गरेर बालबालिकालाई जगाउने र वास्तविका मानव भएर जिउने बाटोदेखाउने काम आजको शिक्षकको हो। यदि ब्यक्तिले चाहेको खण्डमा आफूलाई परिवर्तन गर्न कुनै गुरु खोज्नु पर्दैन आफै आफ्नो गुरु बन्न सकिन्छ। आफूमा भएको ज्ञानको दियो जलाएर संसारलाई उज्यालो दिनेकाम शिक्षकको हो।  

गौतम बुद्धले आफ्नो जीवनको महापरिनिर्वाणको समय नजिकै आउँदा भिक्षु आनन्दले विलाप गर्दै बुद्ध संग सोधे-‘तथागत हजुर परिनिर्वाण भएपछि हाम्रो शास्ता (गुरु) को हुनेछ।’ बुद्धले भने-‘मेरा उपदेशहरुले नै तिमीहरुलाई मार्गर्दर्शन गर्नेछन्।’ बुद्धले जुन सतत् जागरण, (अप्रमाद) होशमा रहने शिक्षा दिएका छन्, त्यसले अहिले पनि बाटो देखाउँछ। ‘आफ्नो बत्ती आफै बन’ -अप्प दीपो भव।

                                                              लोक राज न्यौपाने